काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको मङ्गलवार निधन भएको हो। विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित श्रेष्ठको नेपाल तथा भारतका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो। उपचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो।
नेपाली कांग्रेसले पार्टीमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई हालै ’वरिष्ठ नेता’ मनोनयन गरेको थियो। गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा समेत उनी सहभागी भएका थिए।
पार्टी केन्द्रीय कार्यालयका अनुसार श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा लगेर अन्तिम संस्कार गरिने तयारी छ।
स्याङ्जाबाट पटक–पटक सांसद निर्वाचित भएका श्रेष्ठले आफ्नो राजनीतिक जीवनमा भौतिक योजना, वन, उद्योग र शिक्षा मन्त्रालयजस्ता महत्त्वपूर्ण मन्त्रालयहरूको जिम्मेवारी सम्हालिसकेका थिए।
प्रजातन्त्र पुनर्गठन तथा लोकतान्त्रिक आन्दोलनका क्रममा उनले विभिन्न समयमा गरी करिब ५ वर्ष जेल जीवनसमेत बिताएका थिए। यसका साथै उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) को कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए।