काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन्।
मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीबारे सभामुखले प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलका क्रममा विपक्षी दलहरूले सांसदका जिज्ञासाको जवाफ दिन प्रधानमन्त्रीको नियमित उपस्थितिको व्यवस्था गर्न आग्रह गरेका हुन्। छलफलपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक वसन्ता थापाले प्रतिनिधिसभाको बैठकलाई व्यवस्थित बनाउन क्यालेन्डर निर्माण तथा संसदीय प्रक्रियालाई थप मर्यादित र प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। उनले सीमा विवादसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म आफ्नो दलको विरोध कायम रहने पनि बताइन्।
थापाका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्। सत्ता पक्षका प्रमुख सचेतकले यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको उनले जानकारी दिइन्। नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले कानुनमन्त्रीले विधेयक दर्ता गर्ने प्रतिबद्धता जनाएको भए पनि साउन १४ गतेबाट सुरु हुने अधिवेशनका लागि हालसम्म कुनै नयाँ विधेयक दर्ता नभएको भन्दै ध्यानाकर्षण गराए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले सरकारले संसदलाई पर्याप्त विधायिकी कार्यसूची उपलब्ध गराएकाले दसैँअघि सम्म संसद नियमित र प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे। उनले संसदको मर्यादा, मूल्य र मान्यता कायम राख्दै परिणाममुखी ढंगले बैठक सञ्चालन गर्न सबै दल जिम्मेवार हुनुपर्नेमा सहमति भएको बताए। परियारले पछिल्लो समय आकस्मिक समयमा मूल विषयभन्दा बाहिर गएर अनावश्यक टिप्पणी गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न पनि छलफलमा सहमति भएको जानकारी दिए। छलफलका क्रममा सभामुखले सबै राजनीतिक दललाई संसदको गरिमा कायम राख्दै मर्यादित र रचनात्मक ढंगले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। करिब दुई साताका लागि स्थगित प्रतिनिधिसभाको बैठक साउन १४ गतेदेखि पुनः बस्ने कार्यतालिका रहेको छ।