काठमाडौँ । द्रव्य प्रोडक्सनको ब्यानरमा कमेडी कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माता पक्षले मङ्गलवार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको हो।
फिल्मको मुख्य भूमिकामा चर्चित कन्टेन्ट क्रिएटर तथा अभिनेता साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। सामाजिक सञ्जालबाट लोकप्रिय बनेका पोखरेल पछिल्लो समय अभिनयमा व्यस्त रहँदै आएका छन्।
सार्वजनिक पोस्टरहरूमा पोखरेललाई मोटरसाइकलको पछाडि बसेर यात्रा गरिरहेको र कोटको गोजीमा चलचित्र पत्रकारको ’प्रेस कार्ड’ बोकेको देख्न सकिन्छ। यसले फिल्ममा उनले चलचित्र पत्रकारको भूमिका निर्वाह गर्न लागेको र कथावस्तु पनि सोही विषयवस्तु वरिपरि घुमेको अनुमान गरिएको छ।
जय नेपाल हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, “मैले ’आबाट आमा’ खेलेपछि अभिनय गर्दिनँ भन्ने सोचेको थिएँ, तर अभिनयको नशा नै बेग्लै हुने रहेछ। कथा साह्रै मन परेकाले यो फिल्ममा जोडिएको हुँ।”
फिल्मलाई राजकुमारले निर्देशन गर्न लागेका हुन्। फिल्मका अन्य कलाकारहरूको नाम भने केही समयपछि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। फिल्मको छायाङ्कन आगामी दसैँपछि सुरु हुने तय भएको छ।