काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी संवैधानिक निकायका रूपमा स्थापित गर्न भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनजस्ता सक्षम र दृढ नेतृत्व आवश्यक रहेको बताएका छन्।
मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै केसीले लोकतन्त्रको सुदृढीकरणमा निर्वाचन आयोगको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासँगै निर्वाचन आयोग पनि लोकतान्त्रिक प्रणालीको महत्वपूर्ण आधार भएको भन्दै आयोगले स्वतन्त्र र निष्पक्ष रूपमा निर्णय गर्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिए। जनताको वास्तविक मतादेशको सम्मान र लोकतन्त्रको संरक्षणका लागि आयोगको स्वायत्तता अपरिहार्य रहेको उनको भनाइ थियो।
भारतका पूर्वप्रमुख निर्वाचन आयुक्त टी।एन। शेषनको उदाहरण दिँदै केसीले नेपालका निर्वाचन आयुक्तहरूले पनि निष्पक्षता, साहस र दृढताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालमा अझै पनि भागबन्डाको संस्कार हाबी रहेको टिप्पणी गरे। राजनीतिक पूर्वाग्रहबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अवस्थाले संवैधानिक संस्थाप्रतिको जनविश्वास कमजोर बनाउन सक्ने उनको धारणा थियो। सांसद केसीले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगले ठोस पहल गर्नुपर्ने आवश्यकता पनि औँल्याए। विगतमा विभिन्न सरकार र राजनीतिक दलले प्रतिबद्धता जनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले आगामी निर्वाचनअघि यस विषयमा आवश्यक तयारी गर्न आग्रह गरे।