काठमाडौँ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दु संघ–संस्थासँग आबद्ध युवाहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरू माइतीघर मण्डलामा भेला भएर घटनामा गोली लागेर एक हिन्दु युवाको मृत्यु भएको भन्दै सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले ‘प्रहरीको गोली हिन्दुलाई मात्रै किन र?’ भन्ने प्रश्न उठाउँदै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका थिए। साथै, समाजमा जातीय तथा साम्प्रदायिक सद्भाव कायम राख्न राज्यले संवेदनशील भएर प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनीहरूले जोड दिएका थिए। गत आइतबार राति सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगन्ज–४ निवासी २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। उक्त घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका थिए भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।