पर्सा । वीरगञ्ज महानगरपालिका–२६ स्थित निर्माणाधीन पुलमा डुबेको अवस्थामा दुई बालिकाको शव फेला परेको छ। मृत फेला पर्नेहरूमा स्थानीय ३ वर्षीया र ५ वर्षीया बालिका रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीका अनुसार दुवै बालिका सोमबार आफ्ना अभिभावकसँग खेतमा गएका थिए। खेतबाटै केही समयपछि उनीहरू बेपत्ता भएपछि अभिभावकले खोजतलासका लागि प्रहरीमा निवेदन दिएका थिए।
खोजतलास गर्ने क्रममा निर्माणाधीन पुलको खाल्डोमा जमेको पानीमा दुवै बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको छ।
घटना कसरी भयो भन्ने विषयमा थप र विस्तृत अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।