काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टाभित्र नियम उल्लङ्घन गर्ने १ हजार २४५ जना सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
मङ्गलवार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित चेकिङका क्रममा उनीहरूलाई कारबाही गरिएको हो।
प्रहरीका अनुसार कारबाहीमा पर्नेहरूमा मापसे (मादक पदार्थ सेवन) देखि तीव्र गतिमा सवारी चलाउनेहरूसम्म रहेका छन् । जसमा मादक पदार्थ सेवन (मापसे)मा ५६ जना, तीव्र गतिमा चलाएको ५४ जना, रातो बत्ती उल्लङ्घनमा ४२, जना, गाडीको अवस्था ठिक नभएको ४२ जना, एकतर्फी (वान–वे) बाटो उल्लङ्घन ४२ जना, यान्त्रिक कारबाहीमा ३० जना, नो हर्न (हर्न निषेध) क्षेत्रमा हर्न बजाएको २८ जना, लेन अनुशासन उल्लङ्घन (लेन क्रस)मा १९ जना र सामान्य कसुरमा ९३२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरण तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन नियमित जाँच र कारबाही प्रक्रियालाई थप कडा पारिएको ट्राफिक प्रहरीले जनाएको छ।