काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप पछिल्ला वर्षहरूमा थप जटिल र प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वित प्रयास अपरिहार्य रहेको बताएका छन्।
मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत गतिविधिमा मात्र सीमित नरहेको बताए। उनका अनुसार पहिले यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह तथा बालबालिकाको बेचबिखनजस्ता घटनामा केन्द्रित रहेको अपराध अहिले डिजिटल माध्यमको दुरुपयोग हुँदै नयाँ स्वरूपमा विस्तार भइरहेको छ।
उनले आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर मानिसलाई विदेश पुर्याउने, त्यसपछि उनीहरूलाई बन्धक बनाई अनलाइन ठगी र साइबर स्क्यामजस्ता आपराधिक गतिविधिमा संलग्न गराउने प्रवृत्ति बढ्दै गएको बताए। आईजीपी कार्कीका अनुसार पछिल्ला वर्षमा यस्ता घटनामा उल्लेख्य वृद्धि भएको छ, जसले मानव बेचबिखनलाई अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोडिएको संगठित अपराधका रूपमा स्थापित गरिरहेको छ। त्यसैले यस समस्यालाई परम्परागत दृष्टिकोणबाट मात्र नभई साइबर अपराध, आर्थिक अपराध र अन्तरदेशीय संगठित अपराधसँग जोडेर विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। उनले मानव बेचबिखन नियन्त्रणका लागि अनुसन्धान प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै कानुनी संरचना, प्राविधिक क्षमता र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा आईजीपी कार्कीले मानव बेचबिखनविरुद्धको अभियान सफल बनाउन सबै सरोकारवाला निकायबीच सहकार्य, सूचना आदान–प्रदान र सक्रिय सहभागिता अपरिहार्य रहेको पनि बताएका छन्।