काठमाडौँ । फिल्म ’पार्वती’को मङ्गलवार सार्वजनिक गर्ने तय भएको टिजर रिलिज स्थगित गरिएको छ। फिल्म निर्माण कम्पनी नीता फिल्मस् प्रोडक्सन प्रा.लि.ले एक सूचना जारी गर्दै बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत कारण र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्रचार सामग्री रिलिज स्थगित गरिएको जानकारी दिएको हो।
कम्पनीद्वारा जारी सूचनामा भनिएको छ, “हाल हाम्रो फिल्मका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस संवेदनशील समयमा फिल्मको प्रचार–प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गर्न हामी बाध्य भएका छौँ।” टिजर सार्वजनिक गर्ने नयाँ मिति छिट्टै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।
यसअघि सोमबार साँझ बाल कलाकार अशोक दर्जीले टिकटकमार्फत एक भिडियो सार्वजनिक गर्दै टिजर स्थगित गर्नुको कारण खुलाएका थिए। उनी विशेष गरी टिजर रिलिजकै लागि झापाबाट काठमाडौँ आएका थिए।
भिडियोमा उनले भनेका छन्, “अहिलेको परिस्थितिमा टिजर रिलिज गर्दा मानिसहरूले ‘भ्युजका लागि यस्तो समयमा रिलिज गरे’ भनेर गलत कमेन्ट गर्लान् भन्ने चिन्ता भयो। त्यसैले केही समयका लागि ‘पार्वती’को टिजर सारेका छौँ।”
अशोकमाथि कुटपिट भएको दाबी गरिएको एक भिडियो आइतबार बेलुकादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सोही घटनालाई लिएर उनले गत महिना नै प्रहरीमा उजुरी दिइसकेका छन्।
अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ।
