काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। कार्यक्षेत्रमा भएको कुटपिट, तोडफोड तथा वार्ताका क्रममा स्थानीय प्रशासनले दुव्र्यवहार गरेको आरोप लगाउँदै उनीहरूले आकस्मिक सेवासमेत ठप्प पारेर सामूहिक राजीनामा दिएका हुन्।
नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार कुल ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकहरूको पनि हस्ताक्षर सङ्कलन भइरहेको र सबैले राजीनामा बुझाउने तयारी छ।
चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामालाई मुख्य अडान बनाएका छन्। डा. सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि दोषीमाथि कारबाहीको आश्वासन पाएर चिकित्सक टोली वार्ताका लागि सीडीओ कार्यालय पुगेको थियो। तर, वार्ताका क्रममा नेपाल चिकित्सक सङ्घका प्रतिनिधिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको पनि राजीनामा माग्ने चेतावनी दिएपछि वातावरण तनावपूर्ण बनेको थियो।
त्यसलगत्तै सीडीओ र एसपीले अपशब्द प्रयोग गर्दै प्रहरी लगाएर चिकित्सकहरूलाई झण्डै एक घण्टा नियन्त्रणमा लिएको, मोबाइल खोसेको र अपराधी जस्तै व्यवहार गरेको आरोप डा. सिंहले लगाएका छन्।
गत साउन ८ गते नारायणी अस्पतालका डा. प्रमोद राममाथि साङ्घातिक आक्रमण हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। घाइते डा. रामको हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।
घटनाको विरोधमा नेपाल चिकित्सक सङ्घले मङ्गलवार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ। सङ्घले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न र चिकित्सकहरूका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गरेको छ।