काठमाडौँ । गायक सुमन सरगमको नयाँ गीत (‘आफ्नो बनाई लैजाउ’) सार्वजनिक गरिएको छ। आइतबार साँझ काठमाडौँमा आयोजित एक कार्यक्रमबीच गीतको म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरिएको हो।
गीतको भिडियो चर्चित गायकद्वय राजेश पायल राई र यश कुमारले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्। कार्यक्रममा बोल्दै राजेश पायल राईले आफू निर्णायक रहेको ‘खोजी प्रतिभाको नाम’ रियालिटी शोमार्फत सुमन सरगमसँग पहिलो पटक भेट भएको स्मरण गरे। उनले सुमनलाई प्रतिभाशाली कलाकारका रूपमा उल्लेख गर्दै नयाँ गीतमा गायनसँगै अभिनय पनि प्रभावशाली रहेको बताए। यस्तै, गायक यश कुमारले सुमनसँगको आफ्नो पहिलो भेट सम्झिँदै उनी काठमाडौँ नयाँ–नयाँ आएका बेला ठमेलस्थित एक रेष्टुरेन्टमा भेट भएको बताए। गाउँबाट आएका सुमनले बस्ने ठाउँ र रोजगारीको व्यवस्था गरिदिन आग्रह गरेपछि आफ्नो गायन प्रतिभाबाट प्रभावित भएर सहयोग गरेको उनले सुनाए। अहिले सुमनले संगीत क्षेत्रमा उल्लेखनीय प्रगति गरेको देख्दा आफूलाई गर्व लागेको यशले बताए।
‘आफ्नो बनाई लैजाउ’ गीतमा सुमन सरगमसँगै गायिका मेलिना राईको स्वर रहेको छ। गीतको शब्द तथा संगीत सन्तोष सुनारले तयार गरेका हुन्। होरिजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा याकुभ तामाङ म्युजिक प्रोड्युसर तथा रेशम गदालले मिक्सिङ र मास्टरिङ गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गरिमा शर्मासँग सुमन सरगम स्वयंले अभिनय गरेका छन्। भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको कलर ग्रेडिङ, विवेक सुनारको सम्पादन तथा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ। यो म्युजिक भिडियो सुमन सरगमको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।