सिरहा । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन चर्किएको छ।
मङ्गलवार बिहान सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आक्रोशित स्थानीयहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामासमेत मागेका छन्।
सरकारले नै निर्दोष युवाको हत्या गरेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले गोली चलाउनेमाथि तत्काल कडा कारबाही हुनुपर्ने र प्रहरी दमन बन्द हुनुपर्ने माग राखेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनकारीले करिब आधा घण्टासम्म सडक अवरुद्ध गरेका थिए। प्रहरी टोलीले प्रदर्शनकारीहरूसँग छलफल गरेपछि हाल पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आइसकेको छ।
यसअघि सोमबार पनि सिरहाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको थियो। कर्जन्हा नगरपालिकाको बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा सडक बन्द गरी विरोध जनाइएको थियो।
साउने सोमबारको अवसरमा दुई समूहबिच भएको झडप नियन्त्रणमा लिने क्रममा सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। सोही घटनालाई लिएर मधेसका विभिन्न जिल्लाहरूमा प्रदर्शन भइरहेको छ।