काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित जिल्ला तथा प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर उनको ठाउँमा सङ्खुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई खटाएको छ।
मन्त्रालयले प्रदेश र जिल्ला तहका प्रहरी नेतृत्वमा समेत व्यापक हेरफेर गरेको छ । जसमा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश पठाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा खटाइएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।
सशस्त्र प्रहरी बल, कप्तानगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई फिर्ता बोलाएर सशस्त्र प्रहरी बल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
आइतबार राति दुई समूहबिच भएको झडप र त्यसपछिको स्थितिमा परी १ जनाको मृत्यु हुनुका साथै ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ।
स्थानीय प्रशासनले थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम राख्न देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ।