काठमाडौं । सुनसरीमा भएको गोलीकाण्डमा एक नागरिकको ज्यान गएको घटनाप्रति उद्यमी तथा राजनीतिक नेता सुरज पाण्डेले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारले राजनीतिक तथा नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
"एउटा ज्यानको मूल्य कति हो, सरकार? पटक–पटक किन मारिन्छन् नागरिक?" भन्ने प्रश्न उठाउँदै पाण्डेले कुनै पनि लोकतान्त्रिक राज्यको पहिलो दायित्व नागरिकको जीवन र सुरक्षाको प्रत्याभूति गर्नु भएको बताएका छन्।
उनले नागरिकको मृत्यु हुने घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। साथै, पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र राज्यबाट आवश्यक सहयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
पाण्डेका अनुसार नागरिकको ज्यान केवल एउटा तथ्यांक होइन, एउटा परिवारको आधार, सपना र भविष्यसँग जोडिएको विषय हो। त्यसैले यस्ता घटनापछि औपचारिक वक्तव्य र छानबिन समितिमै सीमित नभई राज्यले परिणाममुखी कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन्।
उनले सुनसरी घटनाको राजनीतिक र नैतिक जिम्मेवारी वर्तमान सरकारले स्वीकार गर्नुपर्ने धारणा राख्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप जवाफदेही बनाउने, प्रभावकारी कार्ययोजना लागू गर्ने र नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
सुनसरी घटनापछि निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही र नागरिक सुरक्षाको सुनिश्चितताका लागि विभिन्न क्षेत्रबाट सरकारमाथि दबाब बढिरहेका बेला पाण्डेको अभिव्यक्तिले राज्यको जवाफदेहिता र लोकतान्त्रिक उत्तरदायित्वबारे नयाँ बहस सुरु गरेको छ।