सप्तरी । सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार सप्तरीको राजविराजमा प्रदर्शन गरिएको छ। सुनसरीको छिमेकी जिल्ला भएकाले सम्भावित घटनालाई ध्यानमा राख्दै सप्तरी प्रशासनले जिल्लामा सुरक्षा सतर्कता बढाएको छ।
प्रदर्शनकारीहरूले राजविराजस्थित नेता चोकमा केहीबेर टायर बालेर विरोध जनाएका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए।
स्थानीय युवा सुरेन्द्र दासको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई सम्बोधन गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा देवानगञ्ज घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस कदम चाल्न माग गरिएको छ।
साउने सोमबारको अवसरमा बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूहबिच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको थियो।