काठमाडौँ । फिल्म ‘अगस्त्य’बाट एक्सन निर्देशनमा राम्रो छाप छाड्न सफल निर्देशक सौरभ चौधरीले आफ्नो नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ निर्माणको घोषणा गरेका छन्। सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मबारे औपचारिक जानकारी गराएका हुन्।
यो फिल्म अहिलेसम्मकै ठूलो क्यानभासमा निर्माण हुन लागेको जनाइएको छ। आगामी भदौ महिनादेखि पूर्वको कोशी ब्यारेज क्षेत्रबाट फिल्मको छायांकन सुरु हुनेछ।
सार्वजनिक थिम पोस्टरमा आगोको लप्काबिच घोडामा सवार मानिसहरू देखिएका छन्। पोस्टरमा उडिरहेको रातो झण्डाले क्रान्ति वा विद्रोहको सङ्केत गर्छ भने पृष्ठभूमिमा प्रस्तुत गरिएको रामलीला नाटकको दृश्यले फिल्मको कथा कुनै खास कालखण्डमा आधारित रहेको बुझाउँछ।
‘डार्क हर्स इन्टरटेन्मेन्ट’को प्रस्तुति रहने यस फिल्मको स्क्रिप्ट चर्चित उपन्यास ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’का लेखक बुद्धिसागरले लेखेका हुन्। मानकृष्ण महर्जनको छायांकन रहने यो फिल्म दुई चरण गरी कुल ७० दिनसम्म खिचिने बताइएको छ।
फिल्मका सह–निर्माता विश्वास बस्नेतका अनुसार यो नेपाली फिल्म उद्योगकै अहिलेसम्मकै ठूलो स्केलको ’एपिक एक्सन ड्रामा’ हुनेछ। आगामी सातादेखि फिल्मका मुख्य कलाकारहरूको नाम सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।