काठमाडौं । सुनसरीको देवानगन्ज क्षेत्रमा जारी कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
आइतबार रातिदेखि तनावग्रस्त बनेको क्षेत्रमा सोमबार पनि प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको हो। प्रदर्शनकारीहरूले कर्फ्यू आदेश उल्लंघन गर्दै सडकमा उत्रिएर आगजनी र तोडफोड गरेपछि प्रशासनले सेना परिचालन गरेको जनाएको छ।
यसअघि आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा थप नौ जना घाइते भएका थिए।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका पाँच क्षेत्रमा कर्फ्यू आदेश लागू गरेको थियो। तर कर्फ्यू जारी रहेकै अवस्थामा प्रदर्शन पुनः चर्किएपछि सुरक्षा निकायले थप सतर्कता अपनाएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै क्षेत्रको सुरक्षा अवस्थामाथि निरन्तर निगरानी राखिएको जनाएको छ।