काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल औसत अवस्थाकै आसपास रहेकाले वर्षा हुने क्रम जारी रहनेछ।
सोमबार बिहान काठमाडौं उपत्यकासहित बागमती प्रदेशका एक–दुई स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको छ।
पछिल्लो एक घण्टामा बागलुङको भिमगिठ्ठेमा १९.८ मिलिमिटर, पाल्पाको हात्तिलुङमा १२.६ मिलिमिटर र कास्कीको लुम्लेमा ७ मिलिमिटर वर्षा मापन गरिएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा कास्कीको लुम्लेमा २१४.८ मिलिमिटर वर्षा भएको छ। गोरखाको घारेढुंगामा १०७.६ मिलिमिटर, कास्कीको मालेपाटनमा ९८.८ मिलिमिटर, बागलुङको भिमगिठ्ठेमा ९६.४ मिलिमिटर, नवलपुरको देउरालीमा ९५.८ मिलिमिटर, काभ्रेको मण्डनमा ९०.६ मिलिमिटर तथा लमजुङको भुजुङमा ८२.६ मिलिमिटर वर्षा रेकर्ड भएको महाशाखाले जनाएको छ। धेरै स्थानमा भारी वर्षा मापन गरिएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सोमबार राति पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै मधेश र कोशी प्रदेशका तराईका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।