नवलपरासी । गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा बागलुङ स्थायी घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा बस्दै ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट–१० पितौजीस्थित गाई फार्ममा कार्यरत करिब ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अकलामाई मन्दिर नजिकको चौरमा पूर्व–पश्चिम राजमार्गको बायाँतर्फ दुई महिला अचेत अवस्थामा रहेको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। दुवैलाई उद्धार गरेर भेडाबारीस्थित नगर अस्पताल लगिएको भए पनि चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका थिए।
घटनास्थलको प्रारम्भिक अनुसन्धानका क्रममा बियरका बोतल तथा कुरमुरेका प्याकेट फेला परेको प्रहरीले जनाएको छ। यद्यपि, मृतकहरूको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको र मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।