काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्याससँग सम्बन्धित हराएको शिलालेख पुनः स्थापना गरिने बताएका छन्।
उनका अनुसार २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्दा राखिएको शिलालेख पछि हटाइएको विषयमा उठेका प्रश्नलाई सरकारले गम्भीर रूपमा लिएको छ। उद्घाटन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले हराएको शिलालेख खोजेर पुनः यथास्थानमा राखिने जानकारी दिए।
नागढुङ्गा सुरुङमार्गको अवधारणा र सम्भाव्यता अध्ययन २०६६/६७ सालतिर तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई नेतृत्वको समयमा अघि बढाइएको थियो। त्यसपछि परियोजनाको औपचारिक शिलान्यास केपी शर्मा ओलीको कार्यकालमा भएको थियो भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सम्पन्न गरिएको थियो। अहिले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले सुरुङमार्गको औपचारिक उद्घाटन गरेको हो।
उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गलाई नेपालको पूर्वाधार विकासको नयाँ अध्यायको रूपमा व्याख्या गर्दै आगामी दिनमा देशका विभिन्न स्थानमा यस्ता सुरुङमार्ग निर्माण गरिने बताए। उनले यो परियोजनाले नेपाललाई आधुनिक सुरुङ प्रविधिको प्रयोगतर्फ अघि बढाएको उल्लेख गर्दै देश ‘टनेल युग’मा प्रवेश गरेको धारणा राखे।
यो परियोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग हो। मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने सहायक सुरुङमार्ग २.५५७ किलोमिटर लामो छ।