काठमाडौँ । ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको अभियोगमा पक्राउ परेका सरकारी कर्मचारी धरौटीमा रिहा भएका छन्। बैतडी घर भई शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, सिंहदरबारमा अधिकृत तहमा कार्यरत सुरेन्द्र भट्ट ललितपुरका प्रमुख जिल्ला अधिकारीको आदेशमा २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।
घटना असार २१ गते साँझ करिब ६ बजेको हो। इमाडोलको गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाउँदै अश्लील हर्कत गरेका थिए। त्यसपछि पीडित युवतीले हिम्मत जुटाएर आफ्नो स्मार्टफोनमार्फत भट्टको भिडियो खिच्दै फलो गरेकी थिइन्। उक्त भिडियो सामाजिक सञ्जाल टिकटकमा पोस्ट भएपछि घटना सार्वजनिक भएको थियो।
भिडियोका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले भट्टलाई असार २२ गते नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को ‘सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने’ कसुरअन्तर्गत अनुसन्धान चलाएको थियो।उक्त कसुर पुष्टि भएमा ६ महिनासम्म कैद हुने कानुनी व्यवस्था रहेको छ।
यद्यपि, अनुसन्धान अधिकृत र सरकारी वकिलसमक्ष दिएको बयानमा आरोपी भट्टले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएको प्रहरीले जनाएको छ।