काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय हितका सवालमा विदेशी शक्तिसामु झुक्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन्। उनले मुलुकको हितका पक्षमा दृढतापूर्वक आवाज उठाउँदा त्यसले द्वन्द्व निम्त्याउँछ भन्ने सोच गलत भएको पनि उल्लेख गरे।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेपालले नेपालको राजनीतिमा वामपन्थी शक्तिहरूले ऐतिहासिक रूपमा महत्वपूर्ण योगदान दिएको र वर्तमान अवस्थामा पनि उनीहरूको भूमिका अपरिहार्य रहेको बताए। उनका अनुसार देशभक्त, लोकतन्त्रवादी, गणतन्त्रका समर्थक तथा संविधान पक्षधर सबैले अहिले वामपन्थी शक्तिबाट जनपक्षीय भूमिका निर्वाह हुने अपेक्षा गरेका छन्। जनताको पक्षमा सशक्त आवाज उठाउने जिम्मेवारी पनि वामपन्थी शक्तिकै काँधमा रहेको उनको भनाइ थियो।
नेपालले अरूलाई मात्र दोष लगाएर समस्याको समाधान नहुने भन्दै आफ्नै कमजोरीको इमान्दार समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए। विचार, नीति, व्यवहार, गतिविधि र जीवनशैलीमा भएका कमजोरी पहिचान गरी खुला छलफलमार्फत सुधार गर्नुपर्ने उनले बताए। विगतमा अवलम्बन गरिएका नीति तथा निर्णयहरूको पनि समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उनले सत्ता प्राप्त गरेपछि विदेशी शक्तिसामु अनावश्यक रूपमा झुक्ने मानसिकता त्याग्नुपर्ने धारणा राखे। राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ अडान लिन सकिने भन्दै त्यसलाई अनावश्यक रूपमा विवाद वा युद्धसँग जोड्न नहुने उनले बताए। नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका क्रममा विश्वका विभिन्न देशका अनुभवबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए। विदेशीलाई खुसी पार्ने प्रवृत्तिका कारण कतिपय गलत निर्णय स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गर्दै उनले विदेशी स्वार्थप्रति सजग रहँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने बताए। साथै, राम्रो कामको खुलेर प्रशंसा गर्न सक्ने परिपक्व राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको उनको भनाइ थियो।