काठमाडौँ । शिक्षा परामर्श व्यवसायमा धरौटी राख्नुपर्ने विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आफ्नो संस्थागत धारणा स्पष्ट पारेको छ।
इक्यानले स्थापना कालदेखि आजसम्म शिक्षा परामर्श क्षेत्रमा धरौटीको व्यवस्था हुनुपर्छ भन्ने कुनै पनि संस्थागत निर्णय, आधिकारिक धारणा वा प्रस्ताव अघि नसारेको स्पष्ट पारेको छ।
इक्यानद्वारा जारी विज्ञप्तिअनुसार संस्थाको इतिहास र अभिलेखमा धरौटीसम्बन्धी कुनै पनि सकारात्मक प्रस्ताव नरहेको उल्लेख छ। इक्यानले आफ्नो धारणा हिजो पनि स्पष्ट रहेको, आज पनि रहेको र भोलि पनि स्पष्ट रहने भन्दै यस क्षेत्रमा धरौटीको कुनै आवश्यकता नरहेको र यसको व्यवस्था गरिनु नहुने अडान दोहो¥याएको छ।
विगतमा कसैले यस्तो प्रस्ताव वा धारणा राखेको दाबी गरिएको भए, त्यसको सम्बन्धित व्यक्ति, मिति र प्रमाणसहित सार्वजनिक गर्न इक्यानले आग्रह गरेको छ। प्रमाणविहीन अभिव्यक्तिलाई तथ्यका रूपमा स्थापित गर्ने प्रयास स्वीकार्य नहुने संस्थाको भनाइ छ।
शिक्षा परामर्श क्षेत्रभित्र अनावश्यक विभाजन, भ्रम वा अविश्वास सिर्जना गर्ने खालका भाष्यबाट जोगिन इक्यानले मन्त्रालय र माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराएको छ।
यस क्षेत्रको एकतालाई कमजोर पार्ने वा “फुट ल्याऊ र राज गर“ को सन्देश जाने अभिव्यक्तिहरूबाट सचेत रहन आग्रह गरिएको छ ।
यो आन्दोलन कुनै व्यक्ति, समूह वा संस्थाको निजी एजेन्डा नभई सम्पूर्ण शिक्षा परामर्श क्षेत्रको साझा आन्दोलन भएको इक्यानको ठम्याइ छ। संस्थाले विभाजन नभई एकता, आरोप नभई प्रमाण र भ्रम नभई तथ्यका आधारमा अगाडि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ।