रौतहट । रौतहटको गुजरा नगरपालिकामा धारिलो हतियार (खुकुरी) प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ। आक्रमणपछि भाग्न खोजेका आक्रमणकारीलाई आक्रोशित स्थानीयवासीले नियन्त्रणमा लिएर कुटपिट गर्दा उनी समेत गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार शुक्रबार बिहान करिब १०ः३० बजे गुजरा नगरपालिका–५ हरिहरपुर टोलकी अन्दाजी ४०–४५ वर्षीया रेनुदेवी जयसवालमाथि खुकुरी प्रहार भएको थियो। स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती रेनुदेवीको घाँटीमा गम्भीर चोट लागेका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
रेनुदेवीमाथि खुकुरी प्रहार गर्ने व्यक्ति बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल घर भई हाल गुजरा–५ हरिहरपुरमै बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवार रहेको खुलेको छ।
घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले उपेन्द्रलाई नियन्त्रणमा लिई कुटपिट गरेका थिए। स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।
घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रादेश कुमार खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले मृतकको शव मुचुल्का उठाएर कानुनी प्रक्रिया अगाडि बढाएको छ। हत्याको प्रस्ट कारण भने हालसम्म नखुलेको र घटनाको हरेक कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।