काठमाडौँ । गएरातिदेखि परेको लगातारको वर्षाले बाजुराका विभिन्न क्षेत्रमा बाढी र पहिरोको प्रकोप बढाएको छ। जिल्लाभरका साना–ठूला नदी तथा खोलामा पानीको बहाव बढेपछि बस्ती, सडक, सिँचाइ संरचना र खेतीयोग्य जमिनमा क्षति पुगेको छ।
सदरमुकाम मार्तडी नजिकको सेलागाड क्षेत्रसहित विभिन्न स्थानमा आएको बाढी–पहिरोका कारण स्थानीयवासी प्रभावित भएका छन्। जोखिमको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी शैलेश्वरी बोहराको नेतृत्वमा प्रहरी टोली राति नै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतको प्रारम्भिक काम गरेको थियो। प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै उनीहरूको आवश्यक सरसामान पनि सुरक्षित ठाउँमा पुर्याएको जनाएको छ।
भारी वर्षाका कारण साँफे–मार्तडी राजमार्गमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक बन्द भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। बडिमालिका नगरपालिका–९ को सेलागाड क्षेत्रमा घरमाथिबाट पहिरो खस्दा १६ घरधुरी प्रभावित भएका छन्। तीमध्ये तीन घरधुरी उच्च जोखिममा परेका छन् भने अन्य १३ घरधुरी पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। उच्च जोखिममा रहेका तीन घर बस्न नमिल्ने अवस्थामा पुगेका छन्। ती घरमा बसोबास गर्ने २२ जना तथा अन्य १३ घरधुरीका ८३ जना सदस्य प्रभावित भएका छन्।
यस्तै, राप्का क्षेत्रमा पहिरोले टोट्के सिँचाइ नहरमा समेत क्षति पुर्याएको छ। करिब २३० मिटर लामो २०० एमएम क्षमताको प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाउँदा सिँचाइ प्रणाली प्रभावित भएको छ। बाढी र पहिरोका कारण धेरै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको स्थानीय प्रशासनले जनाएको छ। जिल्लामा वर्षा अझै जारी रहेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
डेढ सयभन्दा बढी बस्ती उच्च जोखिममा : जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ अनुसार बाजुराका नौवटै स्थानीय तहका करिब १५० बस्ती बाढी तथा पहिरोको उच्च जोखिममा छन्। बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका धेरै बस्ती जोखिमको सूचीमा परेका छन्। जिल्लाका १३५ भन्दा बढी गाउँबस्तीले हरेक वर्ष वर्षायाममा बाढी–पहिरोको जोखिम सामना गर्दै आएका छन्। कतिपय स्थानमा स्थानीयवासी वर्षायामभर रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको छ। जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने आवश्यकता पटक–पटक औंल्याइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। गत वर्ष बाढी–पहिरोबाट प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण गर्न करिब ६ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराइएको थियो।
भिरालो भू–बनोट र पहिरोको उच्च सम्भावनाका कारण बाजुरा हरेक वर्ष प्राकृतिक विपद्को चपेटामा पर्ने गरेको छ। सुरक्षित बस्ती विकास तथा दीर्घकालीन पुनर्स्थापनाको काम अपेक्षित रूपमा अघि बढ्न नसक्दा जोखिम झन् बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वसूचना प्रणाली, जनचेतना अभिवृद्धि, समयमै पूर्वतयारी र प्रभावकारी प्रतिकार्य योजनाले विपद्को जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। सबै जोखिमयुक्त बस्ती तत्काल स्थानान्तरण गर्न सम्भव नभए पनि वर्षायाममा आधिकारिक सूचना नियमित रूपमा पछ्याउने, पूर्वसचेतना अपनाउने र आवश्यक सतर्कता कायम राख्ने हो भने जनधनको क्षति न्यून गर्न सकिने उनले उल्लेख गरे।