काठमाडौँ । सिरहाको लहानस्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले बिहीबार दिउँसो कारबाहीका क्रममा गोली चलाएर ५ जना भारतीय र १ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको साथबाट २२५ ग्राम अवैध लागूऔषध (खैरो हिरोइन) बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कारबाहीका क्रममा १ जना भारतीय र १ जना नेपाली नागरिकको खुट्टामा गोली लागेको छ। घाइतेहरूको उपचारका लागि नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।