काठमाडौँ । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको सवारी साधन सरकारी रहेको पाइएको छ । प्रहरीले गाडी र त्यसका चालकलाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा तत्काल नम्बर नखुलेको सवारी साधनले पैदल यात्री पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षीय गोविन्द लिम्बूलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी चालक र गाडीको खोजी तीव्र पारेको थियो।
इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा साउन ६ गते राति उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित हेभी इक्विपमेन्ट सडक डिभिजन विभाग इटहरीको कार्यालय परिसरमा लुकाई छिपाई राखिएको अवस्थामा बा २ झ २२२६ नम्बरको स्कार्पियो गाडी र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँग समन्वय गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने चालक जिल्ला सिराहा सुखीपुर गाउँपालिका वडा नं. ८ बस्ने ४४ वर्षीय राम उद्गार मण्डल रहेका छन्। पक्राउ परेका मण्डल र नियन्त्रणमा लिइएको बा २ झ २२२६ नम्बरको गाडीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरी मोरङमा ल्याएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।
