काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक वस्तुको उत्पादन, प्रवर्द्धन र बजारीकरणमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा नेपाल अर्गानिक संघका पदाधिकारी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले आवश्यक परे ऐन–कानुन संशोधन वा नयाँ कानुनी व्यवस्था गरेर पनि अर्गानिक क्षेत्रका समस्या समाधान गरिने बताए। छलफलका क्रममा व्यवसायीहरूले अर्गानिक मलमा अनुदानको व्यवस्था, अर्गानिक वस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त निकाय स्थापना तथा अर्गानिक उत्पादनको प्रवर्द्धनका लागि आवश्यक नीतिगत सुधारको माग गरेका थिए।
नेपाल अर्गानिक संघका अध्यक्ष दीपकप्रकाश बास्कोटाका अनुसार प्रधानमन्त्रीले अर्गानिक उत्पादनको प्रमाणिकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था स्थापना गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन्। साथै, रोकिएको अर्गानिक अनुदानबारे पनि सरकारलाई लिखित रूपमा जानकारी गराइएको उनले बताए। संघले नेपालमा उत्पादित अर्गानिक वस्तुको अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेकाले उत्पादन वृद्धि, गुणस्तर अभिवृद्धि र प्रभावकारी बजारीकरणमा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिएको जनाएको छ। व्यवसायीहरूले उठाएका विषयप्रति प्रधानमन्त्री सकारात्मक रहेको जनाउँदै सरकारले उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि निजी क्षेत्रसँग निरन्तर संवादलाई प्राथमिकता दिएको उल्लेख गरिएको छ।