काठमाडौँ । सप्तरी जिल्लामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट कुल ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
गाँजा ओसारपसार भइरहेको विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त ठूलो परिमाणको गाँजा फेला पारेको जनाएको छ। प्रहरीलाई देख्नासाथ सवारीसाधनका चालकहरू गाडी छाडेर फरार भएका थिए।
प्रहरीले घटनामा प्रयोग गरिएका तीनवटै सवारीसाधनलाई गाँजासहित नियन्त्रणमा लिएको छ। जसमा बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा राखिएको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम र बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
फरार चालकहरूको तीव्र रूपमा खोजी भइरहेको छ भने यस गिरोह र गाँजा ओसारपसारको नेटवर्कबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।