काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व)को त्रिवेणी गाउँपालिका–२ घुसेनीमा विद्युत् दुर्घटनामा परी दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार, क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत समेटेर उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएपछि गम्भीर घाइते भएका थिए। दुर्घटनामा उनका दुवै हात गुमेका थिए। नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार विद्युत् दुर्घटनाका पीडितलाई उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउँदै आएको जनाएको छ। विनियमावलीअनुसार १० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्तिको निर्णय सञ्चालक समितिबाट हुने व्यवस्था छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजिरका आधारमा पीडित परिवारलाई सहयोग गरिएको उल्लेख गर्दै कुनै पनि रकमले मानवीय क्षतिको पूर्ति गर्न नसक्ने बताए। उनले उपलब्ध गराइएको रकमले पीडितको जीवनयापनमा केही राहत पुग्ने अपेक्षा व्यक्त गरे। मन्त्री श्रेष्ठले पछिल्लो समय बढिरहेका विद्युतीय दुर्घटना न्यूनीकरणका लागि प्राधिकरणलाई आफ्ना संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रमा निगरानी, सुरक्षा सतर्कता र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। साथै, यस्ता दुर्घटना रोक्न नागरिकको सचेतना पनि उत्तिकै आवश्यक रहेको उनले बताएका छन्।