काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेससँग भएको सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्तावको समर्थन गर्ने सर्वसम्मत निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए। यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलले पनि मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको थियो। नेकपाका ११ र नेपाली कांग्रेसका पाँच गरी १६ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ३२ गते प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन्। मुख्यमन्त्रीको आलोपालो नेतृत्वसम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसले नेकपासँग नयाँ सत्ता समीकरण बनाउँदै अविश्वास प्रस्ताव दर्ता गरेको हो। दुवै दलबीचको सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाइएको छ। प्रदेशसभाबाट अविश्वास प्रस्ताव पारित भएमा मुख्यमन्त्री यामलाल कँडेल पदमुक्त हुनेछन्। गत साता नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि कर्णाली प्रदेशको सत्ता समीकरण परिवर्तन हुने प्रक्रिया सुरु भएको थियो।