काठमाडौँ । प्रहरीले सिराहाको लहानबाट ठुलो परिणामको लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फलफूलको गाडीमा लुकाएको अवस्थामा गाँजा बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका शाखा कार्यालय सिराहाबाट खटिएको टोलीले बुधबार लहान नगरपालिका–३ स्थित श्यामकुमारी साहको घर कम्पाउन्डबाट ६५२ केजी गाँजा बरामद गरेको हो ।
पार्किङ गरेर राखिएको बा२१ च ५८६६ नम्बरको पिकअपमा फलफूलमुनि लुकाएको अवस्थामा ६५२ केजी गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले बताए ।
ब्यूरोको टोलीले गाँजा ओसारपसारमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–३ घर भएकी ३८ वर्षीय श्यामकुमारी साह, १९ वर्षीय शिवम साह र भारतीय नागरिक ३८ वर्षीय गौरव महतो छन् ।
आरोपीहरूमाथि थप अनुसन्धान गर्न उनीहरूलाई बरामद गाँजा सहित इलाका प्रहरी कार्यालय लहानमा बुझाइएको डीएसपी निरौलाले जानकारी दिए ।