काठमाडौँ । विश्लेषक तथा उदारवादी चिन्तक डा। गोपीलाल न्यौपानेले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तन सडक आन्दोलनबाट होइन, संविधान र संसदीय प्रक्रियाअनुसार हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय निकाय, नीति र मेयर उपमेयर कस्तो हुनुपर्छ ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा संस्थागत प्रक्रियालाई कमजोर बनाउने अभ्यासले राजनीतिक अस्थिरता निम्त्याउने धारणा राखे। उनले सरकार संसदमा बहुमत गुमाउँदा वा प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै सरकार परिवर्तन हुनु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै सडक आन्दोलन वा दबाबका आधारमा सरकार परिवर्तन गर्ने प्रवृत्ति उचित नहुने बताए।
डा। न्यौपानेले भारतको उदाहरण दिँदै त्यहाँ लोकतान्त्रिक संस्थाहरू बलियो भएकाले सडक आन्दोलनका भरमा सरकार परिवर्तन नहुने बताए। संसदमा बहुमत प्राप्त सरकारले संवैधानिक प्रक्रियाअनुसार नै शासन सञ्चालन गर्ने भएकाले लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ थियो। उनले लोकतन्त्रको मूल आधार जनताको आवाज सुन्ने संस्कार भएको उल्लेख गर्दै राज्यले नागरिकका गुनासा, भावना र मागलाई समयमै सम्बोधन गर्नुपर्ने बताए। जनताको आवाज बेवास्ता गरिए असन्तुष्टि बढ्ने र विद्रोहका अवस्था सिर्जना हुन सक्ने उनको चेतावनी थियो।
कार्यक्रममा उनले स्थानीय सरकार नागरिकमैत्री हुनुपर्नेमा पनि जोड दिए। सडक किनार वा सार्वजनिक स्थानमा साना व्यवसाय गरेर जीविकोपार्जन गर्ने नागरिकप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने उल्लेख गर्दै नगर प्रहरीबाट हुने दुर्व्यवहार स्वीकार्य नहुने बताए। सडक व्यवसायीहरूले दैनिक कमाइबाट परिवार पाल्ने, छोराछोरीको शिक्षा र घरपरिवारको खर्च धान्ने भएकाले उनीहरूको जीविकामाथि प्रहार गर्नु अन्यायपूर्ण हुने उनको धारणा थियो। डा. न्यौपानेले श्रम गरेर बाँच्ने अधिकार प्रत्येक नागरिकको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै स्थानीय सरकारले नागरिकलाई हेप्ने होइन, सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।