काठमाडौं- नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै काठमाडौंका मालपोत कार्यालयहरूले जग्गाको नयाँ न्यूनतम सरकारी मूल्य (मिनिमम भ्यालुएसन) लागू गरेका छन्। अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा मूल्य बढाइएको छ भने सबैभन्दा महँगो सरकारी दर राजधानीको मुख्य व्यावसायिक क्षेत्रमा कायम गरिएको छ।
सबैभन्दा महँगो क्षेत्र कुन?
सरकारी मूल्यका आधारमा माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, हात्तिसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग, कमलादी, ठमेल, असन, इन्द्रचोक, हनुमानढोका लगायत मुख्य सडकसँग जोडिएका जग्गा सबैभन्दा महँगा छन्।
यी क्षेत्रमा प्रतिआना ७६ लाख २० हजार रुपैयाँ सरकारी मूल्य तोकिएको छ। अघिल्लो आर्थिक वर्षमा यही मूल्य ७२ लाख ६० हजार रुपैयाँ थियो।
अन्य प्रमुख क्षेत्रमा पनि मूल्य वृद्धि
पुतलीसडक आसपासका जग्गाको सरकारी मूल्य प्रतिआना ५६ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५३ लाख २४ हजार रुपैयाँ थियो।
चावहिल मालपोत कार्यालयअन्तर्गत गौशालादेखि धोबीखोला चक्रपथ क्षेत्रका जग्गाको मूल्य पनि बढेर प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ पुगेको छ। यसअघि त्यहाँ ५७ लाख रुपैयाँ कायम थियो।
त्यस्तै, कलंकी मालपोत कार्यालयअन्तर्गत बल्खुदेखि बनस्थली चक्रपथ क्षेत्रको सरकारी मूल्य ४७ लाख रुपैयाँबाट बढेर ४९ लाख ३५ हजार रुपैयाँ पुगेको छ।
कालीमाटी, विष्णुखोला लगायतका क्षेत्रका जग्गाको सरकारी मूल्य पनि अधिकांश स्थानमा वृद्धि गरिएको छ।
सबैभन्दा सस्तो कहाँ?
काठमाडौं जिल्लाभित्र बाटो नपुगेका तथा दुर्गम क्षेत्रमा रहेका केही जग्गाको सरकारी मूल्य अझै प्रतिआना १ लाखदेखि १० लाख रुपैयाँको दायरामा छ।
गोकर्णेश्वर नगरपालिकाको साविक बालुवा गाविसका केही बाटो नपुगेका जग्गाको न्यूनतम मूल्य १ लाख ४३ हजार रुपैयाँ प्रतिआना तोकिएको छ। यस्तै, कीर्तिपुर र बल्खुखोला आसपासका केही क्षेत्रमा पनि न्यूनतम मूल्य १ लाख ६५ हजार रुपैयाँ प्रतिआना कायम गरिएको छ।
सरकारी मूल्य र बजार मूल्य फरक
घरजग्गा व्यवसायीका अनुसार मालपोत कार्यालयले तोकेको मूल्य कर तथा रजिष्ट्रेशन प्रयोजनका लागि न्यूनतम आधार मात्र हो। वास्तविक किनबेच भने अधिकांश स्थानमा सरकारी मूल्यभन्दा निकै माथि हुने गरेको छ।
यसपटकको मूल्य समायोजनले काठमाडौंका अधिकांश व्यावसायिक तथा शहरी क्षेत्रमा जग्गाको सरकारी मूल्य बढेको देखिए पनि वास्तविक बजार मूल्यसँग अझै उल्लेखनीय अन्तर रहेको व्यवसायीहरूको भनाइ छ।