काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको साङ्गठनिक सुदृढीकरण, जनआन्दोलन र संगठन निर्माणलाई वर्तमान नेतृत्वको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।
बुधबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेशमा बलियो र प्रभावकारी पार्टी निर्माण गर्न सके त्यसले समग्र देश र कम्युनिष्ट आन्दोलनलाई नयाँ ऊर्जा दिने बताए। उनले मधेशमा संगठन कमजोर भए पार्टी र आन्दोलनले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए। प्रचण्डले पार्टीभित्र जिम्मेवारी बाँडफाँड र कार्यविभाजनमा केही कमजोरी भएको स्वीकार गर्दै त्यसलाई आवश्यक पुनरावलोकनमार्फत सुधार गरिने बताए। उनले नेता तथा कार्यकर्ताबाट आएका गुनासा र असन्तुष्टिलाई गम्भीर रूपमा लिइने उल्लेख गर्दै कार्यविभाजनलाई थप व्यवस्थित, सन्तुलित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा उनले संगठनलाई थप सुदृढ बनाउन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर पार्टी निर्माण अभियानमा सक्रिय हुन पनि आग्रह गरे।