काठमाडौँ । भूमि समस्या समाधान समितिले एक सूचना प्रकाशित गर्दै काठमाडौँका नदीनाला किनारबाट हटाइएकामध्ये पहिचान भएका २९ जना सुकुम्बासीलाई आफ्नै गृहजिल्ला फर्किएर सम्बन्धित पालिकासँग सम्पर्क गर्न आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा रहँदै आएका ३८८ परिवारमध्ये अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विवरण अद्यावधिक गर्दा नेपालभर कतै पनि घरजग्गा नभएको यकिन भएका २९ परिवारलाई आफ्नै स्थायी वतन भएको जिल्लामा फर्कन भनिएको हो। समितिले राष्ट्रिय स्तरमै घरजग्गाको विवरण खोज्दा उनीहरू पूर्ण रूपमा भूमिहीन भेटिएपछि स्वीकृत कार्यविधि अनुसार आफ्नै जिल्लाबाटै जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
समितिले जारी गरेको सूचना अनुसार अधिकार सम्पन्न बागमती समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत लाभग्राहीहरूको नेपालभर घरजग्गा रहे–नरहेको छानबिन गरिएको थियो। विभागबाट ती परिवारको नाममा देशभर कतै पनि घरजग्गा नभएको पुष्टि भएसँगै उनीहरूको निवेदन फारम र संलग्न कागजातहरूसहितको फाइल तयार गरी आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला समितिहरूमा पठाइसकिएको छ। त्यसैले पहिचान भएका सुकुम्बासी परिवारलाई यथाशीघ्र आफू स्थायी बसोबास रहेको जिल्ला समिति र सम्बन्धित पालिकामा सम्पर्क गर्न सूचित गरिएको छ।
यसरी गृहजिल्ला र पालिकामा कागजात पठाइएका २९ सुकुम्बासी परिवार हाल उपत्यकाका विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्। जसमध्ये कीर्तिपुरस्थित राधास्वामी सत्सङ्गमा बस्दै आएका १४ परिवार, बनेपास्थित रेडक्रसको भवनमा रहेका ९ परिवार, नगरकोटको खानेपानी तालिम केन्द्रमा रहेका ५ परिवार र कृषि तालिम केन्द्रमा बस्दै आएका १ परिवार रहेका छन्। काठमाडौँका नदी किनारबाट उठाइएका सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले उनीहरूकै गृहजिल्लामा जग्गा उपलब्ध गराउने नीति अनुरूप यो कदम चालेको हो।

