काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा मंगलबार बिहान कारमा भएको आगलागीको घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान टुंग्याउँदै यो नियोजित आत्मदाह भएको निष्कर्ष निकालेको छ। जलेर मृत्यु भएका ७० वर्षीय मेडिकल व्यवसायी सुरेशचन्द्र श्रेष्ठले आफैँ गाडीलाई सुनसान स्थानमा पु¥याई भित्र पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। घटनास्थलको सीसीटीभी फुटेज, गाडीको प्राविधिक अवस्था र अन्य प्राप्त प्रमाणका आधारमा घटनामा कुनै बाह्य व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले प्रस्ट पारेको छ।
प्रहरी अनुसन्धानका क्रममा श्रेष्ठले गाडीभित्र आगो लगाउँदा चालक सिटको सिट बेल्टसमेत नखोलेको पाइएको छ। आगलागी भएको देखेपछि एक स्थानीयले ढोका खोलेर बचाउने प्रयास गरे पनि हातमा आगो लागेपछि उनी पछि हट्न बाध्य भएका थिए। ढोका खुलिसक्दा समेत श्रेष्ठ बाहिर निस्किने कुनै प्रयास नगरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। काठमाडौँको नरदेवी स्थायी घर भई हाल कीर्तिपुरस्थित ग्रीन वुड भिल्लामा बस्दै आएका श्रेष्ठको उक्त कार २०६२ सालमा खरिद गरिएको र सुरेशचन्द्र श्रेष्ठ तथा रजनी श्रेष्ठको संयुक्त नाममा दर्ता रहेको अभिलेख प्राप्त भएको छ।
घटनाको कारण खोतल्दै जाँदा पारिवारिक स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठ लामो समयदेखि गम्भीर आर्थिक संकटमा रहेका थिए। कोभिड–१९ महामारीका बेला विदेशबाट स्वास्थ्य सामग्री आयात गर्दा ठूलो लगानी गरेका श्रेष्ठले बजारबाट रकम उठाउन सकेका थिएनन्। ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएपछि उनी लामो समयदेखि अत्यधिक मानसिक तनावमा रहेको र केही समयदेखि अस्वाभाविक व्यवहार देखाउँदै आएको परिवारका सदस्यहरूले बताएका छन्। प्रहरीले घटनामा कुनै आपराधिक संलग्नता नदेखिएको पुष्टि गर्दै आवश्यक थप कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।