काठमाडौँ । सरकारले स्थायी कर्मचारी नियुक्ति प्रक्रियामा रोक लगाउने निर्णय गरेपछि त्यसको विरोधमा युवा तथा विद्यार्थीहरू सडकमा उत्रिएका छन्। दुई दिनअघि बसेको सचिवस्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पूर्वस्वीकृतिबिना लोकसेवा आयोगको पदपूर्ति प्रक्रिया अगाडि नबढाउन गरेको निर्णय खारेजीको माग गर्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। लोकसेवा आयोगको पूर्व निर्धारित वार्षिक कार्यतालिका अनुसार नै नियमित रूपमा विज्ञापन र परीक्षा सञ्चालन हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ।
माइतीघरमा भेला भएका युवाहरूले सरकारको यस निर्णयले वर्षौँदेखि लोकसेवाको तयारी गरिरहेका परीक्षार्थीहरूको अथक मेहनत खेर गएको र युवाहरूको रोजगारीको सपनामाथि गम्भीर प्रहार भएको गुनासो पोखेका छन्। उनीहरूले सरकारी निकायहरूमा हुने करार प्रणालीको दुरुपयोग तत्काल रोक्न र रिक्त दरबन्दीमा समयमै खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। योग्यता र प्रतिस्पर्धाका आधारमा नियुक्ति गरिनुपर्नेमा जोड दिँदै प्रदर्शनकारीहरूले राजनीतिक प्रभावभन्दा कानुन र योग्यता (मेरिट) लाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्। साथै, सांसदहरूलाई स्वकीय सचिव राख्ने नै भए बाहिरका व्यक्ति नभई नेपाल सरकारकै स्थायी निजामती कर्मचारी खटाउनुपर्ने युवाहरूको भनाइ छ।
विरोध प्रदर्शनका क्रममा युवाहरूले सरकारको कार्यशैलीप्रति व्यंग्य गर्दै विभिन्न नारा अंकित प्लेकार्डहरू प्रदर्शन गरेका थिए। उनीहरूले ’देशमै बाँच्ने र देशमै बस्न सक्ने वातावरण सिर्जना गर’, ’स्वतन्त्र संवैधानिक निकायमाथिको हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाएका थिए। विशेषगरी ’पहुँच भए खाऊ युवा–स्वकीय सचिव खाऊ ! लोक सेवा भिड्ने भए, भर्ना छैन जाऊ’ भन्ने नाराले अहिलेको राजनीतिक नियुक्ति र लोकसेवा तयारी गरिरहेका युवाहरूको निराशालाई स्पष्ट रूपमा झल्काएको थियो। स्वतन्त्र संवैधानिक निकायको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उनीहरूले कडा आपत्ति जनाएका छन्।