काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक अधिकारको संरक्षण गर्नु नेपाली कांग्रेसको ऐतिहासिक जिम्मेवारी भएको बताएका छन्।
जननायक बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार जारी गरेको शुभकामना सन्देशमा देउवाले बीपीले अघि सारेका राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, मेलमिलाप र जनताको सर्वोच्चताका सिद्धान्त आज पनि नेपालको राजनीतिक यात्राका प्रमुख मार्गदर्शक रहेको उल्लेख गरेका छन्। उनले बीपीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रियता, प्रजातन्त्र, समाजवाद तथा मेलमिलापको नीतिप्रतिको उनको अटल विश्वास अहिले पनि नेपाली राजनीतिका लागि प्रेरणाको स्रोत बनेको बताएका छन्।
देउवाले बीपी कोइरालाको नेतृत्वमा आफ्नो राजनीतिक यात्रा सुरु गर्न पाउनु जीवनकै ठूलो सौभाग्य भएको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, जिम्मेवारी र जनताप्रतिको प्रतिबद्धताले आफ्नो राजनीतिक जीवनलाई निरन्तर मार्गनिर्देशन गरेको बताए। उनले विगत छ दशकभन्दा लामो राजनीतिक यात्रामा पार्टीको साधारण कार्यकर्तादेखि नेतृत्व तहसम्म पुग्ने क्रममा निरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधी शक्तिविरुद्ध निरन्तर संघर्ष गरेको स्मरण गरेका छन्। जेल जीवन, राजनीतिक प्रतिबन्ध र विभिन्न दमनका अवस्थाबीच पनि लोकतन्त्र, संविधानवाद र जनअधिकारप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै विचलित नभएको उनको भनाइ छ।
देउवाले लोकतन्त्रभन्दा ठूलो विकल्प नरहेको र जनताको अधिकारभन्दा माथि कुनै शक्ति हुन नसक्ने आफ्नो विश्वास सधैं कायम रहेको उल्लेख गरेका छन्। स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहे पनि आफ्नो ध्यान निरन्तर देश, जनता र लोकतन्त्रप्रति केन्द्रित रहेको उनले बताएका छन्। पछिल्ला राजनीतिक घटनाक्रमप्रति आफू गम्भीर रूपमा सचेत रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता र जनताको सर्वोच्चताको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्। सन्देशको अन्त्यमा देउवाले जननायक बीपी कोइरालाको स्मृतिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्। साथै बीपीले देखाएको लोकतान्त्रिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी रहेको उनले उल्लेख गरेका छन्।