काठमाडौँ । काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुनासाथ माइतीघर मण्डला क्षेत्र जलमग्न भई सवारी आवागमन र पैदलयात्रीलाई गम्भीर सास्ती हुने समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले पहल अघि बढाएको छ। साउन महिनामा मात्रै दुई–तीन पटकसम्म माइतीघर क्षेत्र डुबानमा परेकाले यसको दिगो समाधानका लागि महानगरले प्राविधिक अध्ययन सुरु गरेको हो।
माइतीघरबाट जिल्ला प्रहरी परिसरतर्फ भद्रकाली जाने बाटो जलमग्न हुँदा ललितपुरतर्फ पुल्चोक र भक्तपुरतर्फ बानेश्वरसम्मै घण्टौँसम्म सवारी जाम हुने गरेको छ।
समस्याको वस्तुस्थितिबारे बुझ्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल मंगलबार साँझ उच्चस्तरीय टोलीसहित माइतीघर पुगेर स्थलगत निरीक्षण गरेकी छन्।
अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका अधिकारीहरू सहभागी थिए।
स्थलगत निरीक्षणपश्चात् कार्यवाहक मेयर डङ्गोलले माइतीघर क्षेत्र डुबानमा पर्नुका मुख्य प्राविधिक कारणहरूसहितको प्रतिवेदन पेश गर्न साझेदार निकायका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको संयुक्त टोलीलाई यथाशीघ्र प्रतिवेदन पेश गर्न भनिएको छ।