काठमाडौँ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
१९७१ साल भदौ २४ गते जन्मिएर नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।
२०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । २०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको प्रर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ कोइराला स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।
प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट पनि नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन योगदान दिएका छन् ।
यसैबीच, पार्टीका संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवसमा कांग्रेसका दुई समूहले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।
संस्थापन पक्षले ‘ग्रिन रन’लगायतका कार्यक्रमको आयोजना गरेको छ भने संस्थापन इतर समूहले काठमाडौँको प्रज्ञा भवन कमलादीमा भेलाको आयोजना गरेको छ । गत पुसमा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसमा प्रष्टसँग दुई धार देखिएको छ । इतर पक्षको नेतृत्व पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् ।
विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा सम्पर्क कार्यालय खोलेर समानान्तर गतिविधि अघि बढाएका छन् । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिए पनि कांग्रेसभित्रको मतभेद विभाजनको स्थितिसम्म पुग्ने अवस्था देखिएको छ ।