काठमाडौँ । विभिन्न हिन्दूवादी संघ–संस्थामा आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्तामाथि विरोध जनाएका छन्।
पार्टी अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न मन्दिर परिसरमा भेला भएका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दू सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन्। हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो। दुई पक्षबीच तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो। त्यसपछि हिन्दू सम्राट सेनाका कार्यकर्ताले मन्दिरको मुख्य प्रवेशद्वार बाहिर प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका अध्यक्ष साम्पाङले जानकी मन्दिरमा दर्शन गर्ने तयारी गरेका थिए। तर आफ्ना कार्यकर्तालाई मन्दिर परिसरबाट लखेटिएको भन्दै उनले मन्दिर प्रवेशको विषयलाई लिएर राजनीतिकरण गरिएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले आफ्ना समर्थकमाथि दुर्व्यवहार भएको दाबी गरेका छन्। उनले श्रमदाताहरूलाई संयमित रहन आग्रह गर्दै शान्तिपूर्ण ढंगले परिस्थिति सामना गर्न अपिल गरेका छन्।