रौतहट। रौतहटमा रगतले लत्पतिएको अवस्थामा फेला परेको बोरामा बंङ्गुरको मासु रहेको पाईएको छ । गौर–पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिकै सडकमा रगतले लतपतिएको अवस्थामा फेला परेको एक शंकास्पद बोरा पफेला परेको थियो । सडकछेउमा रगत चुहिएको बोरा देखेपछि मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना भएको हुन सक्ने आशंकाले घटनास्थलमा मानिसहरुको भीडसमेत लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बोराभित्र मानवीय शव वा अन्य आपराधिक सामग्री नभई बुंगुरको मासु रहेको पुष्टि भएको छ । “रगत देखिने बोराले केहीबेर तनाव सिर्जना गरेको थियो । बोरा खोलेर हेर्दा बुंगुरको मासु रहेको पाइयो,” उनले भने ।
घटनाको वास्तविकता बाहिरिएसँगै स्थानीयवासीले राहतको सास फेरेका छन्। यद्यपि, सार्वजनिक सडकमा यसरी रगतले लतपतिएको बोरा बेवारिसे अवस्थामा फालिँदा अनावश्यक त्रास फैलिएको भन्दै स्थानीयले यस्ता गतिविधिमाथि निगरानी र कारबाही आवश्यक रहेको बताएका छन् ।
केही समयका लागि हत्या वा अन्य जघन्य अपराधको आशंकाले सनसनी फैलाएको यो घटनाको अन्त्य भने बुंगुरको मासुमा पुगेर टुंगिएको छ ।