काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षको राजनीतिक यात्रामा एमालेले अपेक्षाकृत छोटो समय मात्रै सरकारको नेतृत्व गरेको दाबी गरेका छन्। उनले मुलुकका सबै समस्या र कमजोरीको जिम्मेवारी एमालेमाथि मात्रै थोपर्नु न्यायोचित नहुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले पछिल्लो समय ‘३५ वर्षमा एमालेले के गर्यो रु’ भन्ने प्रश्न उठाएर पार्टीविरुद्ध गलत भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्ता अभिव्यक्तिले वास्तविक तथ्यलाई बेवास्ता गर्दै जनतामा भ्रम फैलाउने प्रयास भइरहेको छ।आचार्यका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन कार्यकालमा क्रमशः २९८ दिन, १ हजार २४४ दिन र ४२५ दिन गरी कुल १ हजार ९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका छन्।
त्यसैगरी, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेका थिए। यी सबै अवधि जोड्दा एमालेले ३५ वर्षमा कुल ३ हजार ८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकार सञ्चालन गरेको आचार्यको दाबी छ। उनले २०४८ सालपछि बाँकी करिब २७ वर्ष अन्य राजनीतिक दलहरूले सरकारको नेतृत्व गरेको उल्लेख गर्दै ३५ वर्षको एक चौथाइ समय पनि एमाले सत्तामा नरहेको बताएका छन्। यस्तो अवस्थामा मुलुकका सबै समस्याको दोष एमालेलाई मात्रै दिन नमिल्ने उनको तर्क छ।
आचार्यले छोटो कार्यकालमै एमाले नेतृत्वका सरकारले सामाजिक सुरक्षा भत्ताको सुरुआत तथा विस्तार, सुशासन प्रवर्द्धन, राष्ट्रिय हितको संरक्षण र ठूला पूर्वाधार आयोजनाको विकासजस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेका छन्। उनले एमाले नेतृत्वका सरकारले नागरिकमा आशा जगाउने र राज्यप्रति विश्वास बढाउने काम गरेको उल्लेख गर्दै राजनीतिक दलहरूको मूल्यांकन तथ्य र वास्तविक कार्यसम्पादनका आधारमा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, भ्रमपूर्ण प्रचारको पछि नलागी सत्य र तथ्यमा आधारित आलोचना तथा विश्लेषण गर्न उनले आग्रह गरेका छन्।