काठमाडौं । स्पेनसँग १–० ले पराजित हुँदै अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने अवसर गुमाएपछि देशभर निराशा छाएको छ ।
समर्थकहरूका लागि यो हार केवल उपाधि गुमाउनु मात्र नभई विश्व फुटबलका महान् खेलाडी लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा पनि समाप्त भएको क्षण बनेको छ ।
ब्युनस आयर्सका बार, क्याफे र सार्वजनिक चोकहरूमा खेल हेर्न भेला भएका हजारौँ समर्थक खेल सकिएको घोषणासँगै स्तब्ध बने । खेल सुरु हुँदा उत्साह, जयजयकार र आशाले भरिएका समर्थकहरू खेल सकिँदासम्म आँसु, निराशा र भावुकतामा डुबेका देखिए । धेरैले अब ३९ वर्षीय मेस्सीलाई विश्वकपमा फेरि देख्न नपाइने पीडा सबैभन्दा ठुलो रहेको प्रतिक्रिया दिएका छन् ।
२२ वर्षीय वास्तुकला विद्यार्थी क्यामिलो चिचेरोले आफूलाई खाली महसुस भएको बताउँदै मेस्सीको विश्वकप यात्रा यतिमै टुङ्गिएको स्वीकार गर्न गाह्रो भएको प्रतिक्रिया दिए । उनले कम्तीमा मेस्सीले आफ्नो करिअरमा जित्नुपर्ने सबै प्रमुख उपाधि जितिसकेको तथ्यले केही सान्त्वना दिएको बताए ।
उनका साथी तथा कानुनका विद्यार्थी जुआन सेन्जले पनि मेस्सीकै युगमा आफू हुर्किएको उल्लेख गर्दै यो केवल एक खेलाडीको बिदाइ नभई एउटा युगको अन्त्य भएको प्रतिक्रिया दिए । यद्यपि हारपछि पनि अर्जेन्टिनाका समर्थकहरूले आफ्नो टोलीप्रतिको सम्मान कायम राखेका छन् ।
राजधानी ब्युनस आयर्सको प्रसिद्ध ओबेलिस्क क्षेत्रमा हजारौँ समर्थक भेला भएर टोलीको हौसला बढाउँदै उत्सव मनाएका थिए । उनीहरूले टोली स्वदेश फर्किएपछि स्वागत गर्न सडकमा उत्रने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।