खोटाङ- खोटाङका दुई फरक स्थानमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा माम्खाकी ४३ वर्षीया शान्ता राई छाँगे खोलामा आएको बाढीमा बगिएकी थिइन्। शनिबार दिउँसो घरबाट निस्किएकी उनी सम्पर्कविहीन भएपछि खोजी गरिएको थियो। राति उनको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियार खाइखुरे खोल्सा तर्ने क्रममा आएको बाढीमा बगेका थिए। खोजीका क्रममा उनको शव राति घटनास्थलबाट करिब १०० मिटर तल फेला परेको प्रहरीले जानकारी दिएको छ।
प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार शान्ता राईको शव आइतबार जिल्ला अस्पताल दिक्तेलमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ। पर्शुराम परियारको शव भने सोमबार पोस्टमार्टम गरिने तयारी रहेको प्रहरीले जनाएको छ।