काडमाडौँ । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा तथा गिम्दी–चारसयबेसी–घुमाउने क्षेत्रमा खसेको लेदो र सुख्खा पहिरो हटाइएपछि बीपी राजमार्गमा पुनः सवारी आवागमन सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार रातिको वर्षापछि सडकमाथिबाट लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। सम्बन्धित निकायले सडक सफा गर्ने काम सम्पन्न गरेपछि केहीबेरअघि राजमार्ग पुनः सञ्चालनमा ल्याइएको हो। सडक खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढ्न थालेका छन्। अवरोधका कारण पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोट क्षेत्रमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए। प्रहरीले वर्षायामका कारण सडक अझै जोखिममा रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन चालक तथा यात्रुलाई अनुरोध गरेको छ।