काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । विभागले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आइतबार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भएर बग्ने साना नदी तथा खोलाले बाढीको जोखिम बढाउने बताएको हो ।
यसैगरी, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी ९पूर्व र पश्चिम०, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्ला भएर बग्ने साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिमरेखाभन्दा तल छ ।