काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्।
एकातर्फ लगातार दोस्रो विश्वकप जितेर इतिहास रच्ने लक्ष्यमा अर्जेन्टिना छ भने अर्कोतर्फ सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने योजनासहित स्पेन मैदान उत्रँदैछ।
यस पटकको फाइनललाई केवल दुई देशबीचको प्रतिस्पर्धा मात्र नभई दुई फरक फुटबल दर्शनबीचको भिडन्तका रूपमा पनि हेरिएको छ। अर्जेन्टिनाको भावनात्मक, आक्रामक र क्षणमै खेलको गति बदल्न सक्ने शैलीको सामना स्पेनको बल नियन्त्रण, पासिङ र सामूहिक रणनीतिले गर्नेछ। यही कारण विश्वभरका समर्थक र विश्लेषकले यस खेललाई पछिल्लो दशककै सबैभन्दा रोमाञ्चक विश्वकप फाइनलमध्ये एक मानिरहेका छन्।
फाइनल अघि सबैभन्दा धेरै चर्चा भने अर्जेन्टिनाका कप्तान लियोनल मेसीको भइरहेको छ। ३९ वर्षीय मेसीका लागि यो अन्तिम विश्वकप खेल हुन सक्ने अनुमान गरिएको छ। सन् २०२२ मा कतारमा विश्वकप जितिसकेका मेसीसामु अब लगातार दोस्रो विश्वकप जित्दै आफ्नो अन्तर्राष्ट्रिय करियरलाई ऐतिहासिक उचाइमा पु¥याउने अवसर छ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई ‘जीवित इतिहास’ भन्दै टोलीका लागि उनको योगदान अतुलनीय रहेको बताएका छन्।
स्पेन भने नयाँ पुस्ताको जोशमा भरिएको टोलीका रूपमा फाइनलमा पुगेको छ। युवा प्रतिभा र अनुशासित सामूहिक खेलका कारण स्पेन प्रतियोगिताभर निकै प्रभावशाली देखिएको छ।
बलमाथिको नियन्त्रण, छिटो पास आदानप्रदान र विपक्षीलाई दबाबमा राख्ने शैली स्पेनको सबैभन्दा ठूलो र बलियो पक्ष बनेको छ। प्रतियोगिताभर स्पेनले निकै कम गल्ती गरेको र रक्षात्मक रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेको विश्लेषण गरिएको छ।
फाइनलसम्मको यात्रामा दुवै टोलीले प्रभावशाली प्रदर्शन गरेका छन्। अर्जेन्टिना सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो। त्यसअघि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र अन्तिम १६ मा इजिप्टलाई पराजित गर्दै अर्जेन्टिना फाइनलसम्म पुगेको हो।
स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले स्तब्ध पारेको थियो भने क्वार्टरफाइनलमा बेल्जियम र अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ।