काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणसम्बन्धी आफ्नो राजनीतिक दृष्टिकोण प्रस्तुत गरेका छन्।
इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक यात्रा, त्यसका उपलब्धि, चुनौती र अनुभवबाट सिक्नुपर्ने पाठबारे आफ्नो धारणा राखेका हुन्। उनले विश्वव्यापी शक्ति सन्तुलनमा आएको परिवर्तन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाको सन्दर्भमा असंलग्न परराष्ट्र नीति तथा समाजवादमा आधारित विकासको मोडेल उत्पीडित राष्ट्रहरूको साझा आवश्यकता बनेको उल्लेख गर्दै त्यसको राजनीतिक खाका प्रस्तुत गरे।
सम्मेलनमा श्रीलंकाका वातावरणमन्त्री डा। दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का ऋण कार्यक्रमका कडा सर्त र वित्तीय अनुशासनबीच जनमुखी विकासको वैकल्पिक मार्गबारे धारणा व्यक्त गरेका थिए। त्यसैगरी, विश्वप्रसिद्ध मार्क्सवादी लेखक तथा इतिहासकार विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थी शक्तिको उदयलाई साम्राज्यवादी संरचनासँग जोडिएको प्रवृत्तिका रूपमा व्याख्या गर्दै समसामयिक अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक, वैचारिक तथा अन्तर्राष्ट्रिय मुद्दामा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनका अवसरमा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेतासँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। यसैबीच, सम्मेलनको साइडलाइनमा उनले क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकका प्रमुख वामपन्थी नेताहरूसँग समेत भेटवार्ता गरेका छन्। सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ।